विभिन्न व्यक्तित्वलाई सम्मान कार्यक्रम

विभिन्न व्यक्तित्वलाई सम्मान कार्यक्रम

सुडी समाज काठमाडौंले स्मरण शक्तिका माध्यमबाट ‘गिनिज बुक अफ द वर्ल्ड रेकर्ड’ मा नाम दर्ता गराउन सफल भएका डा नवल पञ्जियारलाई सम्मान गरेको छ । जनकपुर उपमहानगरपालिका–१६ कपिलेश्वरमा जन्मिएका डा पञ्जियारले एक मिनेटमा ५४ वटा वस्तुलाई स्मरण गरेर विश्वमा नयाँ कीर्तिमान राख्न सफल भएका हुन् ।

श्रम, उद्यममा लिन हुने कर्मठताले एउटा जागरुक, परिश्रमी र लगनशीलताका रुपमा आफूले जन्मेको स्थान, प्रदेश, देश र अन्तरराष्ट्रिय परिवेशमा प्रेरकको भूमिका निर्वाह गरी सुडी समुदाय र समाजलाई गरेका योगदानको कदर गर्दै सुडी समाज काठमाडौँद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनलाई सम्मान गरेको हो ।

त्यस्तै समाजले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टर जस्तो गरिमामय पदमा नियुक्त हुनुभएका डा अंकुर शाहलाई पनि सम्मान गरेको छ । प्रदेश नं २ को समग्र स्वास्थ्य प्रणाली सुदृढीकरण र नागरिकको स्वास्थ्य अवस्था सुधारमा पु-याउनुभएको महत्वपूर्ण योगदानको उच्च कदर गर्दै उनलाई सम्मानपत्रद्वारा सम्मान गरिएको हो । दुबै जनालाई समाजका अध्यक्ष डा अशोक महासेठ, निवर्तमान अध्यक्ष वरिष्ठ अधिवक्ता रामकृष्ण निराला र महासचिव शीतलप्रसाद महतोले ंसंयुक्त रुपमा दोसल्ला ओढाइ सम्मान पत्रद्वारा सम्मान गरेका हुन् ।

कार्यक्रममा सुडी समाज काठमाडौं, युवा उपसमिति र महिला उपसमितिका सदस्यहरुलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो । सो अवसरमा समाजका सल्लाहकारद्वय वरिष्ठ अधिवक्ता निराला र इञ्जिनीयर सत्यनारायण साहले नेपालमा बसोबास गर्ने सुडी समुदायको हकहित र अधिकारको प्रवद्र्धन तथा उन्नयनका लागि समाज क्रियाशील हुनुपर्ने आवश्यकतामाथि जोड दिँदै सुडी समाजभित्र महिला, युवा, गरीब र विपन्नलाई नेतृत्व तहमा अर्थपूर्ण सहभागिता गराउनुपर्ने बताए ।

युवा उपसमितिका संयोजक इञ्जिनीयर रामस्वरुप महासेठको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका अध्यक्ष डा महासेठ, महासचिव महतो तथा महिला उपसमितिका संयोजक अनिता निरालालगायतले सुडी समुदायको सशक्तीकरण, हकअधिकार संरक्षण र मौलिक संस्कृतिको प्रवद्र्धनका लागि सशक्त समाजको अवधारणा आगाडि ल्याउन खोजिएको बताउँदै यसमा सम्बन्धित सबै पक्षको सक्रिय सहयोग र समन्वय आवश्यक रहेको बताए ।